ट्रम्पको चेतावनीपछि खामेनेईको कडा प्रतिक्रिया: ‘अब युद्ध सुरु भइसकेको छ’

ट्रम्पको चेतावनीपछि खामेनेईको कडा प्रतिक्रिया: ‘अब युद्ध सुरु भइसकेको छ’

 काठमाडौं । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई ‘बिनासर्त आत्मसमर्पण’ गर्न दिएको चेतावनीपछि इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनेईले सामाजिक सञ्जाल एक्समार्फत तीव्र प्रतिक्रिया दिएका छन् । उनले लेखेका छन्, “अब युद्ध सुरु भइसकेको छ,” र इरानले इजरायलसँग कहिल्यै झुक्न नदिने स्पष्ट पारेका छन् ।

खामेनेईले एक्समा लेखेका छन्, “हामीले आतंककारी इजरायली शासनलाई कडा जवाफ दिनुपर्छ । जायोनीहरूप्रति हामी कुनै दया देखाउने छैनौं ।”

यसअघि ट्रम्पले एक्समै पोस्ट गर्दै इरानका सर्वोच्च नेतासमक्ष सिधा चेतावनी दिएका थिए । उनले लेखेका थिए, “हामीलाई सुप्रिम लिडर भनिने व्यक्ति कहाँ लुकेको छ भन्ने थाहा छ । उनी सजिलो लक्ष्य हुन्, तर हालका लागि हामी उनलाई मार्ने छैनौं ।”

ट्रम्पको उग्र चेतावनी र खामेनेईको जवाफी आक्रोशले दुई देशबीचको तनाव झनै चर्किएको विश्लेषण गरिएको छ । विश्लेषकहरूले यो परिस्थितिलाई खतरनाक मोडतर्फ उन्मुख भइरहेको संकेतका रूपमा लिएका छन् ।