बडीगाड खोला थुनिएपछि बाग्लुङ र गुल्मीका सीमा आसपासका बस्ती जोखिममा

बडीगाड खोला थुनिएपछि बाग्लुङ र गुल्मीका सीमा आसपासका बस्ती जोखिममा

गुल्मी, ३० भदौ । बाग्लुङ र गुल्मीको सिमानामा रहेको बडीगाड खोला पहिरोले थुनिएको छ । बडीगाड गाउँपालिका–९ र ढोरपाटन नगरपालिकाको सीमा क्षेत्रमा खोला थुनिएपछि जुनसुकै बेला बाँध फुट्नसक्ने भन्दै स्थानीयबासी त्रसित बनेका छन् ।

ढोरपाटन नगरपालिका र बडीगाडको सीमानामा पर्ने खोला गएराति साढे ११ बजेदेखि थुनिएको हो । खोला थुनिएर झण्डै दुई किलोमिटर क्षेत्रमा ताल बनेको गुल्मीबाट सहकर्मी उदय पुन मगरले जानकारी दिएका छन् । बाँध फुट्ने र विपत्ती आउनसक्ने त्रासले बाग्लुङ र गुल्मीका खोला नजिकका बासिन्दा त्रसित भएका छन् ।
बाग्लुङ प्रहरीकाअनुसार खोला किनारका बस्तीलाई सतर्क रहन भनिएको छ । पहाड माथिबाट खसेको ठूलो चट्टानले खोला थुनेपछि बडीगाड आसपासमा रहेका गाउँहरुमा सचेत रहन आग्रह गरिएको प्रहरीले जनाएको छ । खोला किनारका सिमलचौर, भिङ्गगिठी, भुवाचिदी, खर्बाङ्ग, तुराङ, मजुवा, खारा, चोरकाटे, रुद्रवेणी, खैरेनी र रिडी बजारसम्म जोखिम पर्नसक्ने बताइएको छ ।