

हैदराबाद : निर्देशक रोहित शेट्टी र अभिनेता अजय देवगनको लोकप्रिय फिल्म श्रृंखला ‘गोलमाल’को पाँचौं भाग ‘गोलमाल ५’ अब छायांकनको तयारीमा पुगेको छ।
बलिउडमा सबैभन्दा सफल निर्देशक–अभिनेता जोडीमध्ये एक शेट्टी र देवगनले हालसम्म १३ वटा फिल्ममा सँगै काम गरिसकेका छन्। अब १४औं सहकार्यका रूपमा ‘गोलमाल ५’ ल्याउने तयारी भइरहेको छ।
पिंकभिलाको रिपोर्ट अनुसार, हाल रोहित शेट्टी जोन अब्राहमसँग राकेश मारियाको जीवनमा आधारित बायोपिक छायांकनमा व्यस्त छन्, जुन सेप्टेम्बरसम्म सकिने अनुमान गरिएको छ। बायोपिक २०२६ को सुरूवातमा प्रदर्शन हुने तयारीमा छ।
त्यसपछि शेट्टीले ‘गोलमाल ५’ को छायांकन फेब्रुअरीदेखि मार्च २०२६ भित्र सुरू गर्ने योजना बनाएका छन्। रिपोर्टअनुसार फिल्मको मूल कथा तयार भइसकेको छ भने नयाँ लेखक टोली स्क्रिप्टमा काम गरिरहेको छ, जुन सेप्टेम्बर २०२५ भित्र पूरा हुने अपेक्षा गरिएको छ।
फिल्ममा अजय देवगनसँगै अरशद वारसी, तुषार कपूर, कुणाल केमु, श्रेयस तलपडे र जोनी लिवर पनि पुनः देखा पर्नेछन्।
अजय देवगनले ‘गोलमाल ५’ अघि ‘रेंजर’, ‘टोटल धमाल’ र ‘दृश्यम ३’ जस्ता फिल्महरूमा काम सम्पन्न गरिसक्ने कार्यक्रम रहेको छ। ‘गोलमाल ५’ सन् २०२७ को शुरूमा रिलिज गर्ने लक्ष्य राखिएको छ।