संसदमा थापाले – ‘हामी रत्नपार्कमा छौँ कि? सहिद गेटमा? कलंकीमा छौँ कि पोखराको चिप्ले ढुङ्गामा?’

संसदमा थापाले – ‘हामी रत्नपार्कमा छौँ कि? सहिद गेटमा? कलंकीमा छौँ कि पोखराको चिप्ले ढुङ्गामा?’

काठमाडौं ।

संसदमा बजेटमाथि छलफल जारी रहँदा सत्तारुढ नेकपा माओवादी केन्द्रका उपमहासचिव शक्ति बस्नेतको सम्बोधनले विवाद निम्त्याएको छ। बस्नेतको बोलाइप्रति नेकपा एमालेका सांसद सूर्य थापाले नियम उल्लंघन भएको भन्दै आपत्ति जनाएका हुन्।

सांसद थापाले बस्नेतको सम्बोधन संसदको मर्यादाविपरीत रहेको टिप्पणी गर्दै रास्वपाका सांसदहरूलाई लक्षित गर्दै प्रश्न उठाए, “हामी बजेटमाथिको छलफलमा छौँ, तर बैठक कसरी चल्नुपर्छ? कस्तो वातावरण र मर्यादा कायम हुनुपर्छ भन्ने बारेमा हामी सबै सजग हुनुपर्छ।”

थापाले अभिव्यक्तिका क्रममा संसदको अवस्था र वातावरणको तुलना गर्दै भने, “हामी रत्नपार्कमा छौँ कि? सहिद गेटमा? कलंकीमा छौँ कि पोखराको चिप्ले ढुङ्गामा? मैले बुझ्न सकिनँ।”

उनले वेल घेराउमा उत्रिएका रास्वपा सांसदहरूको व्यवहारप्रति कटाक्ष गर्दै “कुर्सी रोइराखेको” टिप्पणी गरेपछि रास्वपाका सांसदहरूले त्यसको प्रतिवादमा नाराबाजी गरेका थिए। उनीहरूले आफूहरू आन्दोलनरत रहेको जनाउँदै थापाको अभिव्यक्तिको विरोध जनाएका थिए।

उक्त परिस्थितिपछि सभामुख देवराज घिमिरेले सदनको मर्यादा कायम राख्ने सन्दर्भमा आफ्नो ध्यानाकर्षण भएको बताउँदै शक्ति बस्नेतलाई सम्बोधन जारी राख्न अनुमति दिएका थिए।