

मुम्बई । अभिनेता तथा निर्देशक ऋषभ शेट्टीको बहुप्रतीक्षित फिल्म ‘कान्तारा २’ को सुटिङ क्रममा फेरि एक दुर्घटना भएको छ। यस पटक ऋषभसहित चालक दल चढेको डुंगा मणि जलाशयमा पल्टिएको हो।
शिवमोग्गा जिल्लाको मस्ती कट्टे क्षेत्रस्थित जलाशयमा दृश्य खिच्दै गर्दा डुंगा पल्टिएको पुष्टि गरिएको छ। घटनास्थल उथलो क्षेत्रमा परेकाले ठूलो दुर्घटनाबाट जोगिएको बताइएको छ। चालक दलका ३० जना सदस्य र ऋषभ शेट्टी सकुशल छन् भने महँगो क्यामेरा र उपकरणहरू भने पानीमा डुबेका छन्।
यसअघि पनि फिल्मको सुटिङका क्रममा गम्भीर घटनाहरू भइसकेका छन्। केही हप्ता अघि मिमिक्री कलाकार कलाभवन निजुको हृदयघातका कारण निधन भएको थियो। त्यस्तै, सुटिङ टोली लिएर हिँडेको बस दुर्घटनामा परेका कारण केही कलाकार घाइते भएका थिए।
थिएटर कलाकार रामदास पुजारीले दक्षिण भारतमा आत्माहरूको कथासँग सम्बन्धित फिल्म बनाउनु जोखिमपूर्ण हुने बताए। तर, ऋषभ शेट्टीले धार्मिक विधिअनुसार आत्माको पूजा गरेका कारण यसपटक पनि सबै सकुशल बाँच्न सफल भएको उनको भनाइ छ।
फिल्मको सुटिङसँगै भइरहेका यी एकपछि अर्को दुर्घटनाले ‘कान्तारा २’ थप रहस्यमय र चर्चित बन्दै गएको छ।