काठमाडौं । पर्साको सानोपाइला सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसहित २९ जनाविरुद्ध जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको छ। सरकारी वकिल कार्यालय पर्साका सूचना अधिकारी अनन्त न्यौपानेका अनुसार जेठ ३० गते सहकारी ठगी तथा संगठित अपराधसम्बन्धी अभियोगपत्र दर्ता गरिएको हो।
लामिछानेमाथि ११ करोड ५६ लाख ९४ हजार रुपैयाँ बिगो माग दाबी गरिएको छ। मुद्दामा सानोपाइला सहकारीबाट कुल दुई अर्ब ३० करोड १४ लाख रुपैयाँ अपचलन भएको दाबी गरिएको छ।
यो प्रकरणसँगै लामिछाने विभिन्न सहकारी ठगी प्रकरणमा जोडिन पुगेका छन्। यसअघि उनी पोखराको सूर्यदर्शन, रूपन्देहीको सुप्रिम, चितवनको साहारा र काठमाडौंको स्वर्णलक्ष्मी सहकारी घोटालासँग समेत सम्बन्धित रहेको विवरण सार्वजनिक भइसकेको छ।
हाल रवि लामिछाने रूपन्देही कारागारमा पुर्पक्षका लागि थुनामा छन्। सानोपाइला प्रकरण सहकारी ठगीसम्बन्धी हालसम्मको अन्तिम मुद्दा हो।