काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लोक सेवा आयोगप्रति जनताको विश्वास गहिरो रहेको बताउँदै निष्पक्षता र योग्यता कायम गर्न आयोगले खेलेको भूमिकाको प्रशंसा गरेका छन्।
आयोगको हिरक जयन्तीका अवसरमा आयोजित समारोहमा बोल्दै प्रधानमन्त्री ओलीले आयोगले निजामति सेवादेखि सुरक्षा निकायसम्मको पदपूर्तिमा निष्पक्ष र पारदर्शी प्रक्रिया अपनाएको उल्लेख गरे।
उनले भने, “आवश्यक जनशक्ति छनोटमा आयोगले प्रविधिमैत्री र समयसापेक्ष सुधार गर्दै आएको जानकारी पाउँदा मलाई खुसी लागेको छ। आयोगलाई अझ सशक्त र प्रविधिमैत्री बनाउन सरकार प्रतिवद्ध छ।”
राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले आयोगले युवा पुस्तामा भरोसा जगाउँदै राष्ट्रसेवामा अभिप्रेरणा दिने भूमिका खेलेको विश्वास पनि व्यक्त गरे।
उनले आयोगका प्रतिवेदनमा उठाइएका सुझाव कार्यान्वयन गर्न सम्बन्धित निकायहरूलाई आग्रह गर्दै, सरकारले आवश्यक सहजीकरण गर्न तत्पर रहने प्रतिबद्धता दोहोर्याए।