

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आफूहरूका मागहरू बेवास्ता गर्दै संसद्को बैठक सञ्चालन गर्नु ‘दादागिरी’ भएको आरोप लगाएको छ।
आइतबार (असार १ गते) को प्रतिनिधिसभा बैठकमा राप्रपा र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूले भिजिट भिसा प्रकरणमा छानबिन समिति गठनको माग गर्दै विरोध जनाए। राप्रपा सांसदहरू आ-आफ्नो आसनमा उभिए भने रास्वपाका सांसदहरूले वेल घेरे।
राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर (ज्ञानेन्द्र) शाहीले दोषीलाई कारबाहीको माग गर्दै सबै सांसदलाई साथ दिन अपिल गरे। “संसद्मा आन्दोलन भइरहँदा यसरी कार्य सञ्चालन गर्नु उपयुक्त होइन,” उनले भने, “हामी सबै जनताको मतले चुनिएका जनप्रतिनिधि हौं। भिजिट भिसा प्रकरणमा दोषीलाई कारबाही होस् भन्ने हाम्रो मागमा सबैले समर्थन गर्नुपर्छ।”
तर राप्रपा र रास्वपाको विरोधका बाबजुद सभामुख देवराज घिमिरेले संसद् बैठक अघि बढाएका थिए।
शाहीले कडा टिप्पणी गर्दै भने, “यसरी संसद् चलाउनु संसदीय अभ्यास होइन, दादागिरी हो। दादागिरी बन्द गरिनुपर्छ।”