

काठमाडौं : इरान र इजरायलबीच पछिल्ला ४८ घण्टादेखि जारी तनाव शनिबार राति चरममा पुगेको छ, जब दुबै देशले एक अर्काको भूमिमा भीषण मिसाइल आक्रमण गरे।
इजरायलले इरानको राजधानी तेहरानमा रहेको रक्षा मन्त्रालयसहित बुसेहर र अन्य क्षेत्रका तेल भण्डारण र ग्यास प्रशोधन केन्द्रलाई लक्षित गर्दै १५० भन्दा बढी ठाउँमा हमला गरेको दाबी गरिएको छ।
यस हमलामा ९ जना आणविक वैज्ञानिक, २० भन्दा बढी वरिष्ठ इरानी कमाण्डर सहित १३८ जनाको मृत्यु भएको र ३५० भन्दा बढी घाइते भएको जानकारी प्राप्त भएको छ। राजधानी तेहरानसहित सात वटा राज्यमा वायु सुरक्षा प्रणाली सक्रिय गरिएको इरानी सञ्चारमाध्यमहरूले जनाएका छन्।
जवाफस्वरूप इरानले पनि इजरायलका विभिन्न शहरहरू — तेलअभिव, जेरुसलेम, तमरा र हाफियाको तेल प्रशोधन केन्द्रसहित ४ स्थानमा १५० भन्दा बढी मिसाइल प्रहार गरेको छ।
इरानी आक्रमणमा हालसम्म ५ जना इजरायलीको मृत्यु भएको र १०० भन्दा बढी घाइते भएका छन्। दोस्रो चरणको ब्यालेस्टिक मिसाइल प्रहारमा एक ६० वर्षीया महिलाको मृत्यु भएको बताइएको छ भने १८ जना घाइते छन्।
इरानले इजरायलका तीनवटा एफ–३५ लडाकु विमान खसालेको पनि दाबी गरेको छ।
दुबै पक्षबाट भएको यो भीषण मिसाइल आदानप्रदानले क्षेत्रीय सुरक्षालाई गम्भीर जोखिममा पारेको छ भने अन्तर्राष्ट्रिय समुदायले चासो व्यक्त गर्न थालेका छन्।