

विराटनगर — नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भिजिट भिसा प्रकरणमा भएको सहमति र उपाध्यक्ष अग्नि सापकोटाबीच कुनै सम्बन्ध नरहेको स्पष्ट पारेका छन्। शुक्रबार विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै उनले यस्तो टिप्पणी गरेका हुन्।
‘कसैले प्रचार गरिरहेका छन् कि हामीले अग्नि सापकोटाको मुद्दा साटेर भिजिट भिसा प्रकरण छाड्यौं। त्यो वाहियात कुरा हो,’ प्रचण्डले भने, ‘भिजिट भिसा प्रकरण र अग्निजीको कुनै साइनो छैन।’
माओवादी केन्द्रले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामाको माग गर्दै गत जेठ १३ गतेदेखि संसद् अवरुद्ध गर्दै आएको थियो। तर जेठ ३० गते कांग्रेस र एमालेसँग दुई बुँदे सहमति गर्दै माओवादी केन्द्रले संसद् चलाउन सहमति जनाएको छ।
प्रचण्डले संसद् चलाउने निर्णय कुनै राजनीतिक साटासाटको परिणाम नभएर, एक महिनाभित्र छानबिन समिति गठन हुने सुनिश्चितताका आधारमा गरिएको बताए। साथै, निजामती सेवा ऐन, शिक्षा ऐनलगायत महत्वपूर्ण विधेयकहरू पारित गराउन ढिला भएकाले संसद् सञ्चालनको आवश्यकता भएको उनको भनाइ छ।
उनले छानबिनको माग अझै कायम रहेको स्पष्ट गर्दै भने, ‘यो मुद्दा छाडिएको होइन, छानबिन समितिको प्रक्रिया अगाडि बढ्छ।’