

काठमाडौं। चालू आर्थिक वर्षको साउनदेखि वैशाख मसान्तसम्मको दश महिनामा नेपालका २० वाणिज्य बैंकहरूले ४७ अर्ब ७९ करोड ४७ लाख रुपैयाँ नाफा कमाएका छन्। यो नाफा अघिल्लो वर्षको सोही अवधिको तुलनामा १.६७ प्रतिशतले घटेको हो। अघिल्लो आवको सोही अवधिमा बैंकहरूले ४८ अर्ब ६० करोड ६८ लाख रुपैयाँ नाफा गरेका थिए।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार यस अवधिमा सबैभन्दा धेरै नाफा आर्जन गर्ने बैंक नबिल बैंक रहेको छ, जसले ५ अर्ब ६० करोड रुपैयाँ नाफा कमाएको छ।
दोस्रो स्थानमा रहेको ग्लोबल आइएमई बैंकले ५ अर्ब ३५ करोड रुपैयाँ नाफा कमाएको छ भने तेस्रो स्थानमा रहेको नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ५ अर्ब २ करोड रुपैयाँ आर्जन गरेको छ।
तर, समग्रमा हेर्दा वाणिज्य बैंकहरूमध्ये १० वटाको नाफा अघिल्लो वर्षको तुलनामा घटेको देखिएको छ। नाफा घट्ने बैंकमा एनआईसी एशिया, हिमालयन बैंक, सिटिजन्स बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक लगायतका बैंकहरू परेका छन्।
वित्तीय क्षेत्रमा देखिएको मन्दी र ब्याजदरको उतारचढावका कारण नाफा प्रभावित भएको विश्लेषण गरिएको छ।