अहमदाबाद विमान दुर्घटनामा बचेका यात्रुलाई प्रधानमन्त्री मोदीले अस्पतालमै भेटे

अहमदाबाद विमान दुर्घटनामा बचेका यात्रुलाई प्रधानमन्त्री मोदीले अस्पतालमै भेटे

अहमदाबाद: बिहीबार अहमदाबादमा भएको भीषण विमान दुर्घटनापछि प्रधानमन्त्री नरेन्द्र मोदी शुक्रबार घटनास्थल पुगेका छन्। उनले दुर्घटनास्थलको अवलोकन गर्नुका साथै सिभिल अस्पतालमा उपचाररत घाइतेहरूको अवस्था पनि जानकारी लिए।

प्रधानमन्त्री मोदीले अस्पतालमा दुर्घटनामा जीवित रहेका एकमात्र यात्रु विश्वकुमार रमेशलाई भेटेर हौसला प्रदान गरेका छन्। अस्पताल श्रोतका अनुसार मोदीले रमेशको हात समाउँदै धैर्य राख्न आग्रह गरेका थिए। प्रधानमन्त्रीसँगको भेटमा रमेशको अनुहारमा भावुक राहत झल्किएको थियो।

विश्वकुमार रमेशको भनाई:
“सबै कुरा मेरो आँखै अगाडि भयो। कसरी बाँचें, मलाई अझै विश्वास लागिरहेको छैन। टेकअफको केही सेकेन्डमै विमान ध्वस्त भयो। म सिट बेल्ट खोल्ने बित्तिकै कसरी हो त्यहाँबाट निस्कन सकेँ,” रमेशले प्रधानमन्त्री मोदीसमक्ष भनेका थिए। उनका अनुसार एयर होस्टेस र धेरै यात्रुहरू तुरुन्तै ज्यान गुमाएका थिए।

डाक्टरको भनाइ अनुसार रमेशको अवस्था स्थिर रहेको छ। उनी लण्डन जानका लागि आफ्ना भाइसँग यात्रामा थिए।

दुर्घटनाको विवरण:
बोइङ ७८७ ड्रिमलाइनर (AI-171) विमान बिहीबार दिउँसो अहमदाबाद विमानस्थलबाट लण्डनका लागि उडेपछि केही मिनेटमै मेडिकल कलेजको होस्टेलमा खसेर दुर्घटनाग्रस्त भएको हो। विमानमा २४२ जना सवार थिए — जसमा २३० यात्रु र चालक दलका १२ सदस्य थिए। विमानमा १६९ भारतीय, ५३ बेलायती, ७ पोर्चुगिज र १ क्यानडाली नागरिक थिए।

प्रधानमन्त्रीको प्रतिक्रिया र समीक्षा तयारी:
दुर्घटनास्थलमा पुगेका मोदी घटनाको विवरणबारे अत्यन्तै गम्भीर देखिएका थिए। उनले आगलागी भएको भवनको निरीक्षण गर्दै स्थानीय अधिकारीहरूसँग जानकारी लिएका थिए।
अस्पताल पुगेपछि उनले घाइतेहरूको अवस्था बुझेर सम्वेदनशीलता व्यक्त गरे। साथै उनले दुर्घटनाको समग्र समीक्षाका लागि उच्चस्तरीय बैठक डाक्ने तयारी गरिरहेका छन्।