काठमाडौँ ढल निर्माण ठेक्कामा अनियमितता : पूर्व प्रशासक अधिकृत प्रदीप परियारसहित ७ जनामाथि भ्रष्टाचार मुद्दा

काठमाडौँ ढल निर्माण ठेक्कामा अनियमितता : पूर्व प्रशासक अधिकृत प्रदीप परियारसहित ७ जनामाथि भ्रष्टाचार मुद्दा

काठमाडौँ । काठमाडौँ महानगरपालिकामा ढल निर्माणको ठेक्कामा अनियमितता भएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सात जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

बुधबार आयोगले सार्वजनिक सम्पत्तिमा हानि पुर्‍याएको भन्दै तत्कालीन प्रमुख प्रशासकीय अधिकृत (हाल सूचना तथा प्रसारण विभागका महानिर्देशक) प्रदीप परियारसहित कर्मचारी र इन्जिनियरहरूमाथि भ्रष्टाचार निवारण ऐनअनुसार कारबाहीको माग गर्दै मुद्दा दर्ता गरेको हो।

सामाखुसी कोरिडोरअन्तर्गत बसुन्धराबाट म्हेपीसम्मको ढल निर्माणको ठेक्कामा भएको अनियमितता उजागर गर्दै आयोगले परियारसहित बोलपत्र मूल्यांकन समितिका सदस्य रवीनमान श्रेष्ठ, शिवराज अधिकारी, बसन्त आचार्य, नमराज ढकाल, सहायक निर्देशक उत्तम दाहाल र इन्जिनियर जनार्दन गिरीलाई प्रतिवादी बनाएको छ।

अनुसार, समानान्तर सेवा प्रालिले सबैभन्दा कम १८ करोड ९ लाख २२ हजार ३२५ रुपैयाँ ६३ पैसामा ठेक्का कबोल गरे पनि आयोगको दाबी अनुसार मिलेमतोमा कम्पनीलाई अयोग्य ठहर गरी दोस्रो कम कबोल गर्ने कल्पवृक्ष–कोहिनुर जेभीलाई २२ करोड ४० लाख ९४ हजार ६१२ रुपैयाँ ९५ पैसामा ठेक्का दिइएको थियो।

यसरी नियमविपरीत निर्णय लिँदा काठमाडौँ महानगरलाई ४ करोड ३१ लाख ७२ हजार २८७ रुपैयाँ ३२ पैसाको हानि पुगेको आयोगको निष्कर्ष छ।