

काठमाडौं । लगातार दुई दिन उकालो लागेको सेयर बजार बुधबार ओरालो लागेको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज १३.६९ अंकले घटेर २६६४ बिन्दुमा झरेको छ।
बजारको कुल कारोबार रकममा पनि सामान्य गिरावट आएको छ। अघिल्लो दिन १० अर्ब १६ करोड रुपैयाँको सेयर किनबेच भएकोमा आज ९ अर्ब ९० करोड रुपैयाँको मात्र कारोबार भयो। कारोबार भएका कम्पनीमध्ये ७७ को मूल्य बढ्दा १७० को घट्यो र एक कम्पनीको मूल्य स्थिर रह्यो।
सेक्टरगत सूचकमा हाइड्रोपावर मात्रै १.१३ प्रतिशतले बढेको छ भने बाँकी सबै समूह ओरालो लागेका छन्। अघिल्लो दिन पाँच प्रतिशतको उच्च वृद्धि देखाएको फाइनान्स समूह आज १.३१ प्रतिशतले घटेको छ।
अन्य घट्ने समूहमा बैंकिङ ०.५१, विकास बैंक ०.७८, होटल तथा पर्यटन १.०८, लगानी १.०७, जीवन बीमा ०.८४, उत्पादन तथा प्रशोधन ०.६१, माइक्रोफाइनान्स ०.४१, निर्जीवन बीमा ०.७१, अन्य १.५७ र व्यापार समूह ०.९२ प्रतिशतले घटेका छन्।
उल्लेखनीय रूपमा मूल्य वृद्धि भएका कम्पनीमा पियोर इनर्जी, सिनर्जी पावर र बुटवल पावर छन्, जसको सेयर मूल्य १० प्रतिशतले उक्लिएको छ। साथै, रिभर फल्स पावर ७.६४, गुराँस लघुवित्त ७.१४ र श्री इन्भेस्टमेन्ट फाइनान्स ६.०७ प्रतिशतले बढेका छन्।
विपरीत रूपमा सप्तकोशी विकास बैंक ४.८३, स्वाभिमान लघुवित्त ३.९४ र बोटलर्स नेपाल बालाजु ३.८९ प्रतिशतले घटेका छन्।
आज धेरै कारोबार भएका प्रमुख पाँच कम्पनीमा राधि विद्युत्, सानिमा माइ हाइड्रोपावर, बुटवल पावर, युनिभर्सल पावर र चिलिमे हाइड्रोपावर परेका छन्।