अमेरिकाभर प्रदर्शन चर्किँदै, १२ राज्यमा फैलियो आन्दोलन, २ को मृत्यु, ११ सयभन्दा बढी पक्राउ

अमेरिकाभर प्रदर्शन चर्किँदै, १२ राज्यमा फैलियो आन्दोलन, २ को मृत्यु, ११ सयभन्दा बढी पक्राउ

काठमाडौं । अमेरिकाको लस एन्जलससहित १२ राज्यका २५ भन्दा बढी सहरमा फैलिएको विरोध प्रदर्शनले देशभरको अवस्था तनावग्रस्त बनाएको छ। पाँच दिनदेखि लस एन्जलसमा जारी प्रदर्शनका कारण स्थानीय प्रशासनले साँझ ६ बजेपछि कर्फ्यु आदेश जारी गरेको छ। मेयर करेन बासले आपतकालको घोषणा गर्दै केही क्षेत्रमा मंगलबार राति ८ बजेदेखि बुधबार बिहान ६ बजेसम्म कर्फ्यु लागू गरेका छन्।

प्रदर्शनहरू सान फ्रान्सिस्को, डलास, अस्टिन, टेक्सास र न्यूयोर्क जस्ता सहरहरूमा शान्तिपूर्ण रूपमा भए पनि केही सहरहरूमा स्थिति हिंसात्मक बनेको छ। हिंसा नियन्त्रणमा लिन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ७०० मरीन कमाण्डोसहित ४ हजार नेशनल गार्ड लस एन्जलस पठाएका छन्। सोमबार र मंगलबार गरी प्रहरीले १,१०० भन्दा बढी प्रदर्शनकारीहरूलाई गिरफ्तार गरेको छ।

लस एन्जलसमा हिंसा केही कमजोर भए पनि अवस्था अझै चिन्ताजनक छ। ट्रम्पले यदि प्रदर्शन जारी रह्यो भने ‘विद्रोह कानून’ लागू गर्न सकिने चेतावनी दिएका छन्। यो कानून अन्तर्गत संघीय सरकारले सैन्य हस्तक्षेप गर्न सक्छ।

राष्ट्रपति ट्रम्पले वासिङ्टन डिसीमा जुन १४ मा हुने आर्मी परेडमा विरोध भए सेनाले प्रतिकार गर्ने चेतावनी पनि दिएका छन्। सोही दिन अमेरिकी सेनाको २५०औं वार्षिकोत्सव र ट्रम्पको ७९औं जन्मदिन पनि हो।

अहिलेसम्मको हिंसामा दुई जनाको ज्यान गइसकेको छ भने प्रदर्शनहरू आप्रवासी निष्कासनविरुद्ध भइरहेको बताइएको छ।

ट्रम्पको सेना परिचालनको निर्णयप्रति लस एन्जलसका मेयर बासले कडा आलोचना गरेका छन्। उनले भने, “हामी अँध्यारो परिस्थितिमा छौं, तर हामीसँग समाधान गर्ने क्षमता छ। हामीले सेना वा गार्ड मागेका थिएनौं। राष्ट्रपति गभर्नरको अधिकार खोस्दैछन्, जुन अस्वीकार्य छ।”

यसैबीच ट्रम्पले क्यालिफोर्नियाका गभर्नर गेभिन न्यूजमलाई पनि निशाना बनाउँदै भनेका छन्, “न्यूजम गभर्नर बन्न फेरि लालायित छन्, तर काममा उनी कमजोर देखिएका छन्।”

विरोधका बीच अमेरिकामा राजनीतिक र सामाजिक अस्थिरता थप उग्र बन्दै गएको छ।