

काठमाडौँ, २९ भदौ । प्रहरी प्रधान कार्यालयले निर्मला पन्त बलात्कारपछि हत्या प्रकरणको सत्यतथ्य पत्ता लगाउन निलम्बित एसपी डिल्लीराज बिष्टको डीएनए परीक्षण सुरु गरेको छ। बिष्टसहित उनका छोरा किरण र भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र बिष्टका भतिजा आयुष विष्टको पनि डीएनए परिक्षण सुरु भएको छ। निलम्बनमा परेका एसपी डिल्ली विष्टसहित घटनामा संलग्न भएका अन्य २ जनाको डिएनए परीक्षणका लागि नमूना संकलन गरिएको छ ।
नेपाल प्रहरी र त्रिवि शिक्षण अस्पतालका फरेन्सिक विज्ञ डा हरिहर वस्तीसहितको टोलीले निलम्बित एसपी विष्ट, उनका छोरा किरण विष्ट तथा भीमदत्त नगरपालिका (कञ्चनपुर)का नगरप्रमुख सुरेन्द्र विष्टका भतिज आयुष विष्टको डिएनए परीक्षण सुरु गरेको हो ।
यसअघि मुख्य अभियुक्त मानिएका दिलिप सिंह विष्टको डिएनए परीक्षण गर्दा घटनामा संलग्न नरहेको पाइएपछि सामान्य तारेखमा मंगलबार रिहा गरिएको थियो । विष्टसँगै घटनामा संलग्न रहेको आशंकामा गिरफ्तार गरिएका रोसनी बमलाई सामान्य तारेखमा तथा बबिता बमलाई ३० हजार रुपैयाँ धरौटीमा छोडिएको थियो ।