

मुम्बई । बलिउडको स्वर्णयुग मानिने ४० र ५० को दशकमा अभिनेत्री मधुबाला र मीना कुमारी दुवै आफ्ना सौन्दर्य र अभिनय प्रतिभाका कारण दर्शकमाझ अपार चर्चित थिए। यी दुई अभिनेत्री केवल पर्दामा होइन, वास्तविक जीवनमा पनि आपसमा मिल्ने साथी थिए। तर, समयसँगै उनीहरूको सम्बन्धमा दूरी सिर्जना भयो—र त्यो दूरीको कारण थियो प्रेम र प्रतिस्पर्धा।
फिल्म ‘महल’ को सुटिङका क्रममा मधुबाला निर्देशक कमल अमरोहीप्रति आकर्षित भएकी थिइन्। उनीहरू नजिकिँदै गएपछि मधुबालाले अमरोहीसँग विवाह गर्ने चाहना व्यक्त गरेकी थिइन्। तर त्यतिबेला अमरोही विवाहित थिए र उनको पहिलो विवाहबाट चार सन्तान थिए। पछि उनले मीना कुमारीसँग दोस्रो विवाह गरे।
जब मीना कुमारीलाई थाहा भयो कि मधुबाला कमल अमरोहीको तेस्रो श्रीमती बन्न इच्छुक छिन्, त्यसपछि उनीहरूको सम्बन्धमा चिसोपन देखिन थाल्यो। पहिल्यै प्रतिस्पर्धा रहेको सम्बन्धमा प्रेम सम्बन्धको गाँठो थपिँदा दुई सहेलीकै सम्बन्ध टुट्दै गयो।
यद्यपि मधुबालाले पछि गायक किशोर कुमारसँग विवाह गरिन्, उनीहरूको वैवाहिक जीवन पनि सुखद बन्न सकेन। दुःखद पक्ष के छ भने दुवै अभिनेत्रीले कम उमेरमै संसार छाडे। तर उनीहरूको सौन्दर्य, अभिनय र व्यक्तिगत जीवनका कथा आज पनि दर्शकको मनमा अमिट छन्।