

काठमाडौं । गैरआवासीय नेपालीहरूले आफूलाई राज्यका सबै निकायले मान्यता दिने खालको नागरिकता प्रदान गर्न माग गरेका छन्।
सोमबार सिंहदरबारमा बसेको प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा नागरिकता ऐन २०६३ संशोधन विधेयकमाथि छलफल गर्दै उनीहरूले हाल दिइँदै आएको गैरआवासीय नागरिकतालाई नेपालकै निकायहरूले मान्यता नदिने गुनासो राखेका हुन्।
गैरआवासीय नेपाली संघ (NRNA) का संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले नेपाली नागरिकसरहको अधिकार सुनिश्चित हुने गरी नागरिकता दिनुपर्नेमा जोड दिँदै भने, “हामी सांसद बन्ने वा संवैधानिक पदमा जाने चाहना राख्दैनौं, तर सम्पत्ति र पहिचानसम्बन्धी अधिकार चाहिन्छ।”
पूर्वअध्यक्ष रविना थापाले गैरआवासीय नागरिकताले मालपोत लगायतका सरकारी कार्यालयहरूमा मान्यता नपाएको उदाहरण दिँदै वंशको आधारमा लिइएको नेपाली नागरिकतालाई निरन्तरता दिनुपर्ने प्रस्ताव राखिन्।
त्यस्तै, ब्रिटिस गोर्खा सैनिकहरूको तर्फबाट पनि नागरिकतामा भोगिएको विभेद हटाउन कानुनी रूपमा स्पष्ट व्यवस्था गर्नुपर्ने माग गरिएको छ।
समिति सभापति रामहरि खतिवडाले गैरआवासीय नेपालीलाई प्रदान गरिने नागरिकतासम्बन्धी विषयमा सरकारले चाँडै स्पष्ट धारणा ल्याउने र सो धारणा विधेयकमा समावेश गरिने प्रतिबद्धता व्यक्त गरे।