बाजुराको बाम्का बजारमा ग्यास सिलिन्डर विस्फोटपछि भीषण आगलागी

बाजुराको बाम्का बजारमा ग्यास सिलिन्डर विस्फोटपछि भीषण आगलागी

कैलाली । बाजुराको बुढीगंगा नगरपालिका–८ मा पर्ने बाम्का बजारमा शुक्रबार दिउँसो ग्यास सिलिन्डर पड्किएर भीषण आगलागी भएको छ।

जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार दिउँसो ४ बजे सुरु भएको आगो राति अबेरसम्म पनि नियन्त्रणमा आउन सकेको छैन। प्रहरी नायब उपरीक्षक इकबाल हवारीका अनुसार विस्फोटपछि आगो तीव्र गतिमा फैलिँदा बजार क्षेत्रका करिब ३० देखि ३५ वटा पसल जलेर पूर्ण रूपमा नष्ट भएका छन्।

बुढीगंगा नगरपालिकाका मेयर रामबहादुर बानियाँले पूरै बजार क्षेत्रमा ठूलो धनमालको क्षति भएको जानकारी दिएका छन्। “अहिलेसम्म आगो नियन्त्रणमा आएको छैन, क्षतिको यकिन विवरण आउन बाँकी छ,” उनले भने।

मानवीय क्षति नभएको बताइए पनि आगलागीबाट करोडौं रुपैयाँ बराबरको धनमाल नष्ट भएको अनुमान गरिएको छ। स्थानीय, प्रहरी र नगरपालिकाको सहयोगमा आगो नियन्त्रणको प्रयास जारी छ।