सरकारको गति अपेक्षा अनुरूप छैन, गम्भीर समीक्षा जरुरी : गगन थापा

सरकारको गति अपेक्षा अनुरूप छैन, गम्भीर समीक्षा जरुरी : गगन थापा

विराटनगर । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले वर्तमान सरकारको गति सन्तोषजनक नरहेको भन्दै गम्भीर समीक्षा आवश्यक रहेको बताएका छन् ।

शुक्रबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै थापाले ठूला दुई दल मिलेर बनेको वर्तमान सरकारले अपेक्षित परिणाम दिन नसकेको टिप्पणी गर्दै सरकारलाई प्रभावकारी बनाउने विषयमा चाँडै कांग्रेसको केन्द्रीय कार्यसमितिले ठोस निर्णय गर्ने बताए ।

महामन्त्री थापाले पतञ्जली जग्गा प्रकरणमा अदालतको आदेश पर्खिनुको विकल्प नभएको स्पष्ट पारे । उनले संवैधानिक निकायले कानुनअनुसार मुद्दा दर्ता गरेको र अब अदालतमा रहेको विषय भएकाले त्यसप्रति विश्वास राख्नुपर्ने धारणा राखे ।

संविधान संशोधनसम्बन्धी समितिको गठन ढिलिएको स्वीकार गर्दै थापाले सरकार गठनकै समयमा भएको सहमतिअनुसार चाँडै समिति बनाएर संशोधनको एजेण्डालाई टुंगोमा पुर्‍याएर प्रक्रिया अघि बढाउने बताएका छन् ।

पार्टी महाधिवेशनबारे सोधिएको प्रश्नमा थापाले २०८३ सालको मंसिरमा महाधिवेशन हुने गरी सदस्यता संकलनलगायतको तयारी भइरहेको जानकारी दिए ।