हरेक ५ दिनमा एक आणविक हतियार बनाउँदै चीन, विश्वभर ९६०० परमाणु हतियार

हरेक ५ दिनमा एक आणविक हतियार बनाउँदै चीन, विश्वभर ९६०० परमाणु हतियार

काठमाडौं  । विश्वका शक्तिशाली मुलुकहरू आणविक हतियारको होडमा जुटिरहेका छन्। एकातिर इरान नयाँ आणविक शक्ति बन्ने तयारीमा छ भने अर्कोतिर चीन, अमेरिका र रूसजस्ता पुराना आणविक राष्ट्रहरूले पनि आफ्नो हतियार भण्डार तीव्र गतिमा विस्तार गरिरहेका छन्।

जापानी थिंक ट्याङ्कको पछिल्लो प्रतिवेदन अनुसार हाल विश्वमा कुल ९६०० तयार अवस्थामा रहेका परमाणु हतियार छन्, जुन अघिल्लो वर्षको तुलनामा केही वृद्धि हो। यस सूचीमा रूस सबैभन्दा अगाडि छ, जससँग ४३१० तैनाथ हतियार छन्। अमेरिकासँग ३७०० हतियार छन् भने चीनले आफ्नो हतियार संख्या १५० प्रतिशतले बढाउँदै ६०० पुर्‍याइसकेको छ।

सबैभन्दा तीव्र गतिमा हतियार बनाउने देश चीन हो। पछिल्ला पाँच वर्षमा उसले ३६० नयाँ आणविक हतियार थपेको छ। औसतमा चीनले प्रत्येक पाँच दिनमा एक आणविक हतियार उत्पादन गरिरहेको अनुमान छ। चिनियाँ राष्ट्रपति सी जिनपिङले आणविक शक्ति विस्तारलाई प्राथमिकता दिँदै उत्पादनमा तीव्रता दिन निर्देशन दिइसकेका छन्।

यो वर्ष आणविक हतियारको पहिलो प्रयोग (हिरोसिमा र नागासाकी) भएको ८० औं वर्ष पनि हो। यद्यपि दोस्रो विश्वयुद्धपछिका वर्षहरूमा अहिलेसम्म कुनै देशले युद्धमा पुनः आणविक हतियार प्रयोग गरेको छैन। तर दक्षिण एशियामा भारत र पाकिस्तानबीचको पछिल्लो गोलीबारीले स्थितिलाई झनै तनावग्रस्त बनाएको छ।

रूस, अमेरिका, चीन, फ्रान्स, बेलायत, इजरायल, भारत, पाकिस्तान र उत्तर कोरियालगायतका देशसँग हाल आणविक हतियार भएको पुष्टि वा विश्वास गरिन्छ। तीमध्ये उत्तर कोरियाले पनि आफ्नो परमाणु कार्यक्रम तीव्र गतिमा अगाडि बढाइरहेको पछिल्लो रिपोर्टले देखाएको छ।

विश्व शान्तिका लागि गम्भीर चुनौतीको रूपमा उभिएको यो आणविक होडबाजीले निकट भविष्यमा कस्तो प्रभाव पार्ला भन्नेबारे चासो बढ्दो छ।