

ड्यालस, अमेरिका । अमेरिका स्थित नेपाली व्यवसायी सुमन थापाले सामाजिक सञ्जालमा आफूविरुद्ध फैलाइएका झुटा र भ्रामक आरोपहरूको विरुद्धमा कानुनी प्रक्रिया अघि बढाउने घोषणा गरेका छन्। टेक्सस राज्यको ड्यालसमा आयोजित पत्रकार सम्मेलनमा थापाले लामो समयदेखि केही व्यक्तिहरूले सामाजिक सञ्जालमार्फत आफूविरुद्ध निराधार आरोप लगाउँदै आएको र पछिल्लो समय तस्बिरसहित मिथ्या प्रचार गर्न थालेपछि आफूलाई “अब अति भयो” भन्ने महसुस भएको बताए।
“मैले व्यवसाय र समाज सेवामा समर्पित भएर काम गर्दै आएको छु,” थापाले भने, “तर, केही व्यक्ति लगातार मेरो नाममा गलत कुराहरू फैलाइरहेका छन्। पहिले त ध्यान दिएनँ, तर अब विषय गम्भीर भयो।”
थापाका अनुसार केही वर्षअघि आफ्नो एक स्टोरमा सिबिडी भेप सम्बन्धमा स्थानीय प्रहरीको निरीक्षण भएको थियो। सो घटनामा कुनै दोष भेटिएको थिएन र न त उनलाई कुनै जरिवाना वा सजायँ सुनाइएको थियो। तर हालसालै उक्त पुरानो घटनालाई तोडमोड गरी तस्बिरसहित सामाजिक सञ्जालमा झुटा आरोपसहित प्रस्तुत गरिएको उनले बताए।
“मैले लामो समयदेखि यस्ता व्यक्तिगत आक्षेपहरूको बेवास्ता गर्दै आएको थिएँ,” उनले भने, “तर जब तस्बिरसहित मिथ्या प्रचार थालियो, तब मैले कानुनी बाटो रोज्ने निर्णय गरें। अब उसलाई जवाफ अमेरिकी कानुनबाटै दिनेछु।”
थापाले आफूले कमाएको धन, समय र अनुभव नेपाली समुदायको हितका लागि खर्चन पछि नहटेको उल्लेख गर्दै भने, “समाजसेवा मेरो प्रेरणा हो, तर समाजमै बसेर समाजलाई बिगार्ने काम गर्नेहरूलाई छाडिने छैन।”
पत्रकार सम्मेलनमार्फत थापाले स्पष्ट पारेका छन् कि उनी अब कानुनी प्रक्रिया अघि बढाइसकेका छन् र यस्ता गलत प्रवृत्तिहरूको अन्त्य गर्न दृढ छन्। उनले समुदायका सबैलाई सत्यतथ्य बुझ्न आह्वान गर्दै असत्य प्रचारप्रति सचेत रहन आग्रह गरेका छन्।