

काठमाडौं । सार्वजनिक यातायात बन्द गर्दै आन्दोलनमा उत्रिएका व्यवसायीका माग सम्बोधन गर्न सरकारले वार्ता समिति गठन गर्ने सहमति जनाएको छ।
सोमबार गृहमन्त्री रमेश लेखक र यातायात व्यवसायी प्रतिनिधिहरूबीच गृह मन्त्रालयमा भएको छलफलपछि समस्या समाधानका लागि वार्ता समिति गठनको सहमति भएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वाँरले जानकारी दिए।
उनका अनुसार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको संयोजकत्वमा गठन हुने समितिमा व्यवसायी पक्षबाट चार र सरकार पक्षबाट सात जना सदस्य रहने छन्।
स्वाँरले आजै दिनभर छलफल गरी निष्कर्ष निकाल्ने प्रयास हुने, प्रदेश सरकारले ल्याएको राइड सेयरिङसम्बन्धी नियमावली स्थगन गर्ने वातावरण बनाउने र त्यसपछि व्यवसायीहरूले आन्दोलन फिर्ता लिने सम्भावना रहेको बताए।