

काठमाडौं । १० दिने चीन भ्रमण सकेर आइतबार स्वदेश फर्किएकी पूर्वराष्ट्रपति विद्या भण्डारीले आफ्नो भ्रमण सफल र सकारात्मक भएको बताएकी छन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा संक्षिप्त प्रतिक्रिया दिँदै भण्डारीले भ्रमण राम्रो भएको उल्लेख गर्दै बाँकी विवरण उद्योग मन्त्री दामोदर भण्डारीले प्रस्तुत गर्ने जानकारी दिइन् ।कम्युनिस्ट एकताको सन्दर्भमा सञ्चारकर्मीले राखेको प्रश्नमा भने उनले कुनै प्रतिक्रिया जनाइनन्।
भण्डारीको चीन भ्रमणलाई राजनीतिक वृत्तमा विशेष चासोका साथ हेरिएको छ। कतिपयले उनलाई आगामी एमाले महाधिवेशनमा नेतृत्वका लागि सम्भावित उम्मेदवारका रूपमा समेत चर्चा गरेका छन्।
यसैबीच, उद्योग मन्त्री दामोदर भण्डारीले भने भ्रमणलाई कम्युनिस्ट एकतासँग जोडेर हेर्नु उचित नहुने बताएका छन्। ‘यो भ्रमण सद्भावको भ्रमण मात्र हो। पार्टी र सरकार दुबैको सहभागिता रहेको टोलीको भ्रमणलाई अनावश्यक रूपमा अर्थ नलगाउन आग्रह गर्दछु,’ मन्त्री भण्डारीले भने।