अन्तर्राष्ट्रिय मध्यस्थता महासन्धिको समारोहमा सहभागी परराष्ट्रमन्त्री आरजु राणा स्वदेश फिर्ता

अन्तर्राष्ट्रिय मध्यस्थता महासन्धिको समारोहमा सहभागी परराष्ट्रमन्त्री आरजु राणा स्वदेश फिर्ता

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा चीनको विशेष प्रशासकीय क्षेत्र हङकङमा आयोजित अन्तर्राष्ट्रिय मध्यस्थता संगठन स्थापना महासन्धि हस्ताक्षर समारोहमा सहभागी भई गएराति स्वदेश फर्किएकी छन्।

चिनियाँ विदेशमन्त्री वाङ यीसँगको निमन्त्रणामा मन्त्री राणा गत बुधबार हङकङ प्रस्थान गरेकी थिइन्। नेपालले उक्त समारोहमा पर्यवेक्षकको हैसियतमा सहभागिता जनाएको हो। समारोहमा ३२ मुलुकले महासन्धिमा हस्ताक्षर गरेका थिए भने ५० भन्दा बढी देशका प्रतिनिधि र २० भन्दा बढी अन्तर्राष्ट्रिय संगठनको उपस्थिति थियो।

यस नवगठित मध्यस्थता संगठनले राष्ट्रहरू, अन्तरराष्ट्रिय कम्पनी, निजी क्षेत्र तथा नागरिकबीच उत्पन्न हुने विवादहरूलाई वार्तामार्फत समाधान गर्ने उद्देश्य राखेको छ। कार्यक्रमकै क्रममा मन्त्री राणाले चिनियाँ समकक्षी वाङ यीसँग द्विपक्षीय भेटवार्ता गर्दै दुई देशबीचको मैत्रीपूर्ण सम्बन्ध थप सुदृढ बनाउने, चीनको सहयोगमा भइरहेका परियोजनाहरू समयमै सम्पन्न गर्ने, साथै आर्थिक, प्राविधिक र व्यापारिक सहकार्य विस्तार गर्ने विषयमा छलफल गरेकी थिइन्।

उनले सन् २०२५ मा नेपाल–चीन कूटनीतिक सम्बन्ध स्थापनाको ७०औं वार्षिकोत्सव विशेष कार्यक्रमहरूसहित मनाउने र उच्चस्तरीय भ्रमण आदानप्रदानलाई निरन्तरता दिने सहमति भएको जानकारी दिइन्।

मन्त्री राणाको नेतृत्वमा रहेको नेपाली प्रतिनिधिमण्डलमा परराष्ट्र मन्त्रालयको उत्तरपूर्व एसिया महाशाखा प्रमुख भृगु ढुङ्गाना, हङकङस्थित नेपालका महावाणिज्यदूत डा. विन्देश्वरप्रसाद लेखकसहित अन्य अधिकारीहरू सहभागी थिए।