

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमालेलाई सिध्याउने हैसियत कसैको नरहेको दाबी गर्दै आगामी २०८४ सालको निर्वाचनमा एकल बहुमत ल्याउने लक्ष्यसहित अघि बढिरहेको बताएका छन्।
शनिबार नेपाल बुद्धिजीवी परिषद्को ११औं राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै ओलीले व्यक्तिगत महत्वाकांक्षा होइन, राष्ट्रिय हित र समृद्धिको मार्गमा केन्द्रित रहे एमालेलाई कसैले रोक्न नसक्ने दाबी गरे। ‘विभाजनपछि पनि एमाले लोकप्रिय पार्टीकै रूपमा उभिएको छ,’ ओलीले भने, ‘एमालेलाई भित्तामा टाँसिदिन्छु भन्नेहरू आफैं कमजोर छन्, हामी बलिया छौं।’
आफूलाई “झोले” भनेर आलोचना गर्नेहरूलाई व्यङ्ग्य गर्दै ओलीले जनताको अधिकार र परिवर्तनका एजेन्डा बोकेको नेताको रूपमा आफूलाई गर्व लागेको बताए। ‘म जनताको झोला बोक्ने मान्छे हुँ, परिवर्तनको झण्डा बोकेको छु,’ उनले भने, ‘त्यसमा मलाई लाज छैन, बरु गौरव छ।’
ओलीले एमालेविरुद्ध विगतमा गरिएको विभाजन र षड्यन्त्र पार्टीको सुदृढतामा रूपान्तरित भएको दाबी गर्दै बुद्धिजीवी वर्गले देशको निकासका लागि जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्नुपर्ने बताए। ‘देश संक्रमणकालमा छ, निकास खोज्ने दायित्व बुद्धिजीवीको पनि हो,’ उनले भने, ‘सही विचारको साथ दिनुहोस्, गलतको विरोध गर्नुहोस्।’
उनले केवल आलोचना गर्ने प्रवृत्तिबाट माथि उठेर बुद्धिजीवी वर्गले राष्ट्रहित र परिवर्तनको पक्षमा अडान लिनुपर्ने आवश्यकता औंल्याए।