

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले गणतन्त्रको संरचना डगमगिँदा सबैभन्दा ठूलो चिन्ता नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पर्नु स्वाभाविक भएको टिप्पणी गरेका छन्।
शनिबार राजधानीमा राजसंस्थाको पुनःस्थापनासहितको आन्दोलनको क्रममा सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै लिङ्देनले भने, “गणतन्त्र हल्लिँदा सबैभन्दा ठूलो पीर उहाँलाई पर्नु स्वाभाविक हो। त्यसैले पीर परेको बेलामा के–के भन्नुहुन्छ, त्यसलाई हामीले अन्यथा मान्दैनौं।”
यसअघि प्रचण्डले राजसंस्थाको पक्षमा भेला भएका प्रदर्शनकारीबारे टिप्पणी गर्दै पैसा बाँडेर मान्छे ल्याइएको आरोप लगाएका थिए। त्यसको जवाफ दिँदै लिङ्देनले भने, “उहाँले आफ्नै अनुभव सुनाउनु भएको हो होला। गणतन्त्रको पक्षमा प्रदर्शन गर्दा आफैँले भोज खुवाएर, पैसा बाँडेर मान्छे ल्याउनुभएको थियो। त्यसैले अबको घटनामा पनि त्यही अनुमान गर्नु भएको हो।”
अध्यक्ष लिङ्देनले राप्रपाले जुटाइरहेको जनसमर्थनको लहर सरकारका लागि दबाब बन्ने विश्वास व्यक्त गरे। “हाम्रो मागमा जनसमर्थन अझ बढ्दै जान्छ भने सरकारलाई झुक्न बाध्य बनाउनेछौं। अहिले पुग्दैन भने फेरि अर्को चरणमा अगाडि बढ्छौं, निरन्तर लागिरहन्छौं,” उनले भने।
राजसंस्था पुनःस्थापनाको एजेन्डालाई लिएर राप्रपा फेरि सशक्त ढंगले आन्दोलनमा उत्रिएको छ। लिङ्देनले परिवर्तनको विकल्प खोज्दै जनमत जुटाउने प्रक्रियालाई शान्तिपूर्ण र लोकतान्त्रिक ढंगले अघि बढाइने बताएका छन्।