निजी क्षेत्रमैत्री बजेट आएको छ : अध्यक्ष ढकाल

निजी क्षेत्रमैत्री बजेट आएको छ : अध्यक्ष ढकाल

काठमाडौँ। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ल्याइएको बजेट निजी क्षेत्रलाई प्राथमिकतामा राखेर ल्याइएको बताएका छन्। शनिबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले राजधानीमा आयोजना गरेको पोस्ट बजेट छलफल कार्यक्रममा बोल्दै उनले बजेटले निजी क्षेत्रलाई सहयोग पुग्ने विश्वास व्यक्त गरे।

‘नेपालीलाई विदेशमा लगानी गर्न दिने प्रावधान ऐतिहासिक र महत्वपूर्ण छ,’ उनले भने, ‘समग्रमा निजी क्षेत्रलाई प्राथमिकता दिने खालको बजेट आएको छ।’ अध्यक्ष ढकालले बजेटमा समेटिएका योजनाहरूको प्रभावकारी कार्यान्वयनमा ध्यान दिनुपर्ने बताए। साथै, स्रोत र साधनको परिचालनलाई प्राथमिकतामा राख्नुपर्ने धारणा पनि राखे।

खनिजजन्य र नदीजन्य पदार्थ उत्खननमा ध्यान दिनुपर्नेमा जोड दिँदै उनले सरकारलाई दीर्घकालीन सकारात्मक प्रभाव पार्ने निर्णय लिन आग्रह गरे। पर्यटन क्षेत्रलाई बजेटमा प्राथमिकता दिएकोप्रति प्रसन्नता व्यक्त गर्दै ढकालले भने, ‘टिडिएस र करका कारण पर्यटकको लागत बढेको छ, त्यसलाई सहज बनाउन आवश्यक छ।’

बजेटमार्फत लगानी बोर्डलाई शक्तिशाली बनाइएकोमा सन्तोष व्यक्त गर्दै उनले लगानीकर्तालाई झन्झटिलो प्रक्रिया हटाएर एकद्वार प्रणालीमा लैजानुपर्ने बताए। अन्त्यमा, मौद्रिक नीति र बजेटबीच समन्वय कायम भएमा राम्रो परिणाम आउने उनको धारणा थियो।