


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गृहमन्त्री रमेश लेखकमाथि कुनै स्पष्ट आरोप नरहेको अवस्थामा प्रतिपक्षी दलले राजीनामा माग्नु निराधार र अनुचित भएको टिप्पणी गरेका छन्।
शनिबार कान्तिपुर मिडिया ग्रुपद्वारा आयोजित ‘हाफ म्याराथुन’को उद्घाटनपछि कान्तिपुरका व्यवस्थापक र सम्पादकसँगको छलफलमा प्रधानमन्त्री ओलीले गृहमन्त्रीमाथि न कुनै छानबिन चलिरहेको न त कुनै कानुनी प्रक्रियामा रहेका बेला राजीनामाको माग गर्नु अतिरञ्जनापूर्ण भएको स्पष्ट पारे।
“म माग राख्ने अधिकारको सम्मान गर्छु, तर मागमा आधार चाहिन्छ,” ओलीले भने, “गृह मन्त्रालयअन्तर्गतका सयौँ कर्मचारीमध्ये एकजनालाई अख्तियारले बोलाएको भरमा गृहमन्त्रीको राजीनामा माग्नु निहुँ खोज्ने प्रयास मात्रै हो। यो अवस्था त मानौँ ३५ किलो सुन नै ओसारिएको हो, जस्तो बनाइएको छ, तर त्यस्तो केही होइन।”
ओलीले तत्कालीन गृहमन्त्रीको राजीनामाको सन्दर्भमा त्यो बेलाको छानबिन प्रक्रिया र अहिलेको अवस्था फरक रहेको स्मरण गराउँदै गृहमन्त्री लेखकमाथि न आरोप लागेको न त अख्तियारले बयान नै लिएको उल्लेख गरे। उनले प्रतिपक्षले सरकारविरुद्ध असम्भव माग राखेर सदन अवरुद्ध गर्न खोज्नु लोकतान्त्रिक मूल्यविपरीत भएको बताए।
ओलीले व्यङ्ग्यात्मक शैलीमा भने, “बच्चाले झोलामा हात्ती हालेर दिनू भन्छ भने त्यसो गर्न सम्भव हुँदैन, जस्तै प्रतिपक्षको गृहमन्त्रीको राजीनामाको माग पनि पुरा गर्न सकिने खालको छैन।”
प्रधानमन्त्री ओलीले संसदमा प्रस्तुत बजेट यथार्थमा आधारित र व्यवहारिक भएको दाबी गरे। “गत वर्षजस्तो आधारबिहीन प्रक्षेपण हामी गर्दैनौं। अब हामी सामाजिक सुरक्षा, सुशासन र समावेशी विकासमा केन्द्रित भएका छौं,” उनले स्पष्ट पारे।
कार्यक्रमको अन्त्यमा उनले खेलकुदले मानिसलाई एकजुट बनाउने भन्दै ‘हाफ म्याराथुन’ आयोजना गरेकोमा कान्तिपुर मिडिया ग्रुपलाई धन्यवाद व्यक्त गरे।