कोशी लोकमार्गमा बाढीको असर: सडक बग्दा यातायात अवरुद्ध

कोशी लोकमार्गमा बाढीको असर: सडक बग्दा यातायात अवरुद्ध

विराटनगर । लगातारको वर्षासँगै आएको बाढीका कारण कोशी लोकमार्गका विभिन्न सडक खण्डमा क्षति पुगेपछि यातायात पूर्णरूपमा अवरुद्ध भएको छ।

शनिबार बिहान करिब साढे ५ बजे लेउती खोलामा आएको बाढीले धनकुटा जिल्लाको साँगुरीगढी गाउँपालिका–६ स्थित फेदी भन्ने स्थानमा सडक बगाएको हो। सडक बगेपछि सवारी साधनको आवागमन रोकिएको जिल्ला प्रहरी कार्यालय धनकुटाका निमित्त प्रवक्ता प्रहरी निरीक्षक ध्रुवनारायण श्रेष्ठले जानकारी दिए।

श्रेष्ठका अनुसार खोलामा आएको बाढीले झण्डै १०० मिटर कालोपत्रे सडक बगाएको छ, जसका कारण दुबै तर्फका सवारी रोकिएका छन्।

त्यस्तै, कोशी लोकमार्गकै साँगुरीगढी–६ स्थित नमस्ते झरनाको छेउमा रुख लडेपछि सडक अवरुद्ध भएको थियो। यद्यपि, रुख हटाएर सो स्थानको सडक सुचारु गरिएको प्रहरीले जनाएको छ।

वर्षाका कारण तमोर करिडोर सडक समेत अवरुद्ध भएको छ। त्यसैगरी छरुवा खोलामा आएको बाढीका कारण धनकुटाको चौबिसे गाउँपालिका–४ खण्डमा समेत सडक अवरुद्ध भएको छ। मौसममा सुधार नआएसम्म आवागमनमा थप समस्या पर्न सक्ने स्थानीय प्रशासनको भनाइ छ।