गृहमन्त्रीको राजीनामा नआएसम्म संसद चल्न नदिने माओवादीको अडान

गृहमन्त्रीको राजीनामा नआएसम्म संसद चल्न नदिने माओवादीको अडान

काठमाडौं । नेकपा माओवादी केन्द्रले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा नभएसम्म संसद अवरुद्ध गर्ने अडान पुनः दोहोर्‍याएको छ।

खुमलटारस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको पदाधिकारी बैठकले गृहमन्त्री लेखकले छानबिन सहज बनाउन पदत्याग गर्नुपर्ने निष्कर्ष निकालेको हो। पार्टी सचिव लीलामणि पोखरेलका अनुसार अब माओवादी केन्द्र संसदमा अन्य दलहरूसँग मिलेर अझ सशक्त ढंगले प्रस्तुत हुने छ।

“गृहमन्त्रीको राजीनामा नभएसम्म संसद चल्न सक्दैन,” पोखरेलले भने, “हामीले यो विषय पहिले नै उठाइसकेका छौं र अब त्यसलाई थप प्रभावकारी ढंगले अघि बढाउँछौं।”

जेठ १५ गते संविधानअनुसार बजेट प्रस्तुत गर्नुपर्ने बाध्यताका कारण माओवादीले संसदको अवरोध एक दिनका लागि फुकुवा गरेको थियो। तर, अब भने नियमित प्रक्रिया अघि बढ्न नदिने माओवादी केन्द्रको चेतावनी छ।

यता, सत्तारुढ दल नेपाली कांग्रेस र प्रमुख प्रतिपक्षी एमालेका शीर्ष नेताहरूले भने गृहमन्त्री लेखकको राजीनामा असम्भव रहेको स्पष्ट पारेका छन्।