राजसंस्थाको पक्षमा माइतीघरमा आज पनि प्रदर्शन, आन्दोलनलाई निरन्तरता दिने मोर्चाको तयारी

राजसंस्थाको पक्षमा माइतीघरमा आज पनि प्रदर्शन, आन्दोलनलाई निरन्तरता दिने मोर्चाको तयारी

काठमाडौं । राजसंस्था पुनःस्थापनाका पक्षमा उत्रिएका राजावादी घटकहरूको संयुक्त जनआन्दोलन आज पनि निरन्तरता पाउने भएको छ। आन्दोलनको दोस्रो दिनको कार्यक्रम माइतीघर–बिजुलीबजार क्षेत्रमा केन्द्रित हुने भएको छ।

राजसंस्था र हिन्दू राष्ट्र पुनःस्थापना तथा संघीयता खारेजको मागसहित संयुक्त जनआन्दोलन समितिको संयोजन र राप्रपाको अगुवाइमा यो आन्दोलन अनिश्चितकालीन रूपमा अघि बढाइएको हो। माग पुरा नभएसम्म सडकबाट नहट्ने राजावादी घटकहरूले चेतावनी दिएका छन्।

राप्रपाका प्रवक्ता मोहन श्रेष्ठका अनुसार हिजोको पहिलो दिनको प्रदर्शन शान्तिपूर्ण र प्रभावकारी भएकोले आन्दोलनकारीको मनोबल उच्च बनेको छ। आजको प्रदर्शन पनि शान्तिपूर्ण नै बनाइने उनको भनाइ छ।

श्रेष्ठले भने, “हामी जिम्मेवार राजनीतिक दल हौं, हिंसा भड्काउने हाम्रो कुनै योजना छैन। तर, यदि गणतन्त्रवादी दलहरूले हाम्रो शान्तिपूर्ण आन्दोलनलाई बेवास्ता गरे भने यो आन्दोलन चर्किन सक्छ।”

श्रेष्ठले हिजोको प्रदर्शनलाई राजसंस्थावादीहरूको नैतिक विजयका रूपमा समेत व्याख्या गरेका छन्। उनका अनुसार, “गणतन्त्रको उत्सव मनाउन सत्तारुढ दलले आह्वान गरेको थियो, तर त्यसको तुलनामा विरोधमा उत्रिने संख्या कयौं गुणा बढी थियो। यसले हाम्रो आन्दोलनप्रति जनसमर्थन प्रस्ट देखाउँछ।”