आजको मौसम अपडेट: कोशी र मधेशमा भारी वर्षाको सम्भावना 

आजको मौसम अपडेट: कोशी र मधेशमा भारी वर्षाको सम्भावना 

काठमाडौं: हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु तथा बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभाव सक्रिय रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। त्यसको असरस्वरूप देशका विभिन्न भू-भागमा मौसम बदलीसँगै वर्षाको सम्भावना देखिएको छ।

महाशाखाका अनुसार लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको छ भने अन्य क्षेत्रको मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहेको बताइएको छ।

दिउँसोको मौसम पूर्वानुमान अनुसार:

– कोशी र मधेश प्रदेशका धेरै स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम तथा केही स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना छ।

-बागमती, गण्डकी र अन्य पहाडी भू-भागमा पनि हल्कादेखि मध्यम वर्षा हुनसक्ने देखिएको छ।

-कोशी र बागमती प्रदेशको उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ।

रातिको मौसम पूर्वानुमान:

-कोशी, मधेश, बागमती, गण्डकी र सुदुरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ।

-कोशी प्रदेशका धेरै, र अन्य प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षा हुने सम्भावना छ। कोशी र मधेश प्रदेशका केही स्थानमा भारीदेखि अति भारी वर्षा पनि हुनसक्छ।

-उच्च पहाडी र हिमाली भू-भागमा पनि केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहन्छ।

महाशाखाले सम्भावित भारी वर्षा, चट्याङ र हिमपातले जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा असर पार्न सक्ने भन्दै सतर्कता अपनाउन अनुरोध गरेको छ।