पुराना मुद्दामा पुरानै ऐन

पुराना मुद्दामा पुरानै ऐन

काठमाडौं, २८ भदाै । सर्वोच्च अदालतको हिजाे बसेको फूलकोर्ट बैठकले भदौ १ अघिका मुद्दामा पुरानै मुलुकी ऐन र सम्बद्ध ऐनअनुसार फैसला गर्ने समझदारी गरेको छ । समझदारीबाट सर्वोच्चसहित देशभरिका अदालतमा रहेका फौजदारी र देवानी प्रकृतिका झन्डै दुई लाख मुद्दाको फैसला विधि टुंगिएको हो । समझदारीलाई अाज नै सबै अदालत र न्यायाधिकरणमा सर्कुलर गरिने भएको छ ।

मुलुकी फौजदारी र देवानी संहिता लागू भएपछि पुराना मुद्दाको फैसला कसरी गर्ने भन्ने जटिलता देखिएको थियो । नवनियुक्त प्रधानन्यायाधीश ओमप्रकाश मिश्रसहित सर्वोच्चका सबै न्यायाधीश संलग्न फुलकोर्टले भदौ १ पछिका मुद्दामा मुलुकी फौजदारी र देवानी संहिताले तोकेकै कार्यविधिका आधारमा फैसला गर्ने समझदारी गरेको छ । याे खबर अाजकाे अन्नपूर्ण पाेष्ट दैनिकबाट लिएका हाै ।

सर्वोच्चले फौजदारी र देवानी संहिता कार्यान्वयनमा आइपर्ने बाधाअड्चनका विषयमा अध्ययन गर्न संहिता लागू गर्नुअगावै सर्वोच्चका न्यायाधीश दीपककुमार कार्कीको संयोजकत्वमा न्यायाधीशहरू विश्वम्भर श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, मुख्य रजिस्ट्रार राजन भट्टराई र सहरजिस्ट्रार एवम् प्रवक्ता भद्रकाली पोखरेल संलग्न उच्चस्तरीय समिति गठन गरेको थियो ।