

काठमाडौं : सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि सहरी विकास मन्त्रालयको बजेट उल्लेखनीय रूपमा बढाएको छ। चालु आर्थिक वर्षमा ९२ अर्ब ६३ करोड रुपैयाँ विनियोजन गरिएकोमा आगामी वर्षका लागि बजेट बढाएर १ खर्ब १८ अर्ब ३४ करोड रुपैयाँ पुर्याइएको हो।
यसअघि आर्थिक वर्ष २०८०/०८१ मा सहरी विकास मन्त्रालयका लागि ६६ अर्ब १७ करोड रुपैयाँ मात्र विनियोजन गरिएको थियो। २०७९/०८० मा भने बजेट झनै कम, ३७ अर्ब ७३ करोड रुपैयाँ मात्र थियो।
सरकारले पूर्व–पश्चिम जोड्ने मध्य पहाडी राजमार्ग अन्तर्गत निर्माणाधीन १० सहरको भौतिक पूर्वाधार विकासका लागि १ अर्ब ७० करोड रुपैयाँ विनियोजन गरेको छ। यसले मध्य पहाडी क्षेत्रका शहरी संरचनामा उल्लेखनीय सुधार ल्याउने अपेक्षा गरिएको छ।
यसैबीच, सर्वोच्च अदालत र संसद भवनको निर्माण कार्य आगामी वर्षमा सम्पन्न हुने भएको छ। यी महत्वपूर्ण संरचनाहरूको निर्माण सम्पन्न भएसँगै प्रशासनिक र न्यायिक प्रणालीको पूर्वाधार बलियो हुने विश्वास गरिएको छ।