

काठमाडौं। मुलुकका ४५ सार्वजनिक संस्थानमध्ये १६ घाटामा रहेका छन् भने २ संस्थान बन्द अवस्थामा छन्। २०८०/८१ मा यी संस्थानको कुल सञ्चालन आय ६ खर्ब ६० अर्ब १५ करोड पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा ०.२२ प्रतिशतले कम हो।
कुल गार्हस्थ उत्पादन (जीडीपी) मा सञ्चालन आयको अनुपात ११.५७ प्रतिशत रहेको छ। हाल २० वटा संस्थान पूर्णसरकारी स्वामित्वमा छन् भने २५ वटामा सरकारको प्रमुख स्वामित्व रहेको छ।
समीक्षा वर्षमा संस्थानहरूको खुद नाफा ४२ अर्ब ६२ करोड रुपैयाँ रह्यो, जुन अघिल्लो वर्षको तुलनामा १२.८८ प्रतिशतले कम हो। नाफामा रहेका २८ संस्थानको नाफा पनि ११.५० प्रतिशतले घटेको छ।
उता, घाटामा रहेका १६ संस्थानको कुल नोक्सानी ३ अर्ब ६३ करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा ८.६५ प्रतिशतले बढी हो।