

काठमाडौं । तत्कालीन सात राजनीतिक दलको नेतृत्वमा भएको शान्तिपूर्ण जनआन्दोलन र नेकपा (माओवादी)को सशस्त्र संघर्षको उपलब्धिका रूपमा स्थापना भएको गणतन्त्रको अभ्यास नेपालले १८ वर्ष पूरा गरेको छ।
विसं २०६५ जेठ १५ गते संविधानसभाको पहिलो बैठकद्वारा २४० वर्ष लामो निरङ्कुश राजतन्त्रको अन्त्य गर्दै संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरिएको थियो। यसै ऐतिहासिक दिनको स्मरणमा गणतन्त्र दिवस मनाउने गरिन्छ।
जेठ १५ ले नेपाली जनतालाई समावेशी समानुपातिक प्रतिनिधित्व, नागरिक सर्वोच्चता, स्वतन्त्रता र उदार सामाजिक न्यायसहितको शासन प्रणाली प्रदान गरेको दिनका रूपमा चिनिन्छ। यो दिन वंशाधिकारको अन्त्य गर्दै जनअधिकारको विजयको उत्सव पनि हो।
संघीय लोकतान्त्रिक गणतन्त्रले शिक्षादेखि स्वास्थ्य, यातायात, सामाजिक सुरक्षा र गरिबी न्यूनीकरणसम्मका मुद्दामा नागरिक अधिकारको सुनिश्चितता गर्दै नेपाललाई विश्वमञ्चमा सम्मानजनक स्थान दिलाउने अवसर प्रदान गरेको छ।
जनभावना र अपेक्षाअनुरूप सञ्चालन हुने शासन प्रणालीका रूपमा लोकतान्त्रिक गणतन्त्रलाई केवल राजनीतिक व्यवस्था मात्र नभई शासकीय पद्धति र जीवनशैलीको रूपमा पनि लिइन्छ। यसले समृद्ध राष्ट्र निर्माणको आधार तयार पार्न बलियो साधनको रूपमा कार्य गरिरहेको विश्वास गरिएको छ।
गणतन्त्र दिवसका अवसरमा आज देशभर विविध कार्यक्रमसहित उत्साहपूर्वक मनाइँदैछ। मूल समारोह समिति द्वारा टुँडिखेलमा आयोजना हुने विशेष कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेललगायत विशिष्ट अतिथिहरूको सहभागिता रहनेछ।
समारोहमा सहिदहरूप्रति श्रद्धाञ्जलि अर्पण गरिनेछ भने लोकतन्त्र स्थापनाका लागि संघर्ष, त्याग र बलिदान गर्ने अग्रजहरूको योगदानको स्मरण गरिनेछ।
नेताहरूले आजको दिनलाई बलियो अर्थतन्त्र, न्यायपूर्ण अवसर, सुशासन र समावेशी विकासमार्फत समृद्ध नेपाल निर्माण गर्ने संकल्प दोहोर्याएका छन्।
आजको पुस्तालाई समुन्नत वर्तमान र भोलिको पुस्तालाई उदार, समावेशी र लोकतान्त्रिक संस्कृतिले भरिएको राष्ट्र हस्तान्तरण गर्नुपर्ने संदेशहरू दिइएका छन्।
जनादेश, संविधान र लोकतान्त्रिक मूल्यको आधारमा एकताबद्ध भएर अघि बढ्दा मात्र गणतान्त्रिक शासन प्रणाली सुदृढ र संस्थागत हुने विश्वास व्यक्त गरिएको छ।