

काठमाडौं । बम विस्फोटपछि घाइतेलाई इँटाभट्टामा हालेर हत्या गराएको आरोपमा जन्मकैदको सजाय भोगिरहेका नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद अफताव आलमलाई उच्च अदालत वीरगञ्जले सफाइ दिएको छ।
न्यायाधीशद्वय खुशीप्रसाद थारु र अर्जुन महर्जनको संयुक्त इजलासले रौतहट जिल्ला अदालतको २०८१ वैशाख १३ गतेको फैसलालाई उल्ट्याउँदै आलमलाई निर्दोष ठहर गरेको हो।
पूर्वमन्त्री आलमलाई पहिलो संविधानसभा निर्वाचनको समयमा बम बनाउने क्रममा विस्फोट भई घाइते भएका व्यक्तिहरूलाई इँटाभट्टामा हालेर हत्या गराएको आरोपमा २०७६ सालको असोजमा पक्राउ गरिएको थियो।
उक्त घटनामा आलमका भाइ मोहम्मद मोहताब आलम, सेख सराज र इँटाभट्टाका मुनसी बद्री सहनीलाई समेत जिल्ला अदालतले जन्मकैदको सजाय सुनाएको थियो। तर उच्च अदालतको पछिल्लो फैसलाले मुख्य अभियुक्त अफताव आलम निर्दोष भएको ठहर गरेको हो।