भिजिट भिसा प्रकरणमा संलग्नता नभएको गृहमन्त्री लेखकको दाबी, आफूविरुद्ध षड्यन्त्र भएको आरोप

भिजिट भिसा प्रकरणमा संलग्नता नभएको गृहमन्त्री लेखकको दाबी, आफूविरुद्ध षड्यन्त्र भएको आरोप

काठमाडौं: गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको स्पष्ट पारेका छन्। बुधबार संघीय संसद भवनको ल्होत्से हलमा पत्रकार सम्मेलन गर्दै उनले आफूविरुद्ध राजनीतिक पूर्वाग्रहका आधारमा नियोजित षड्यन्त्र गरिएको दाबी गरे।

“सामाजिक सञ्जाल र विभिन्न माध्यमबाट भिजिट भिसा प्रकरणमा मेरो संलग्नता देखाउने प्रयास भएको छ, तर यो पूर्णतः असत्य र निराधार हो,” मन्त्री लेखकले भने। उनले आफूविरुद्धको आलोचना सुनियोजित र राजनीतिक बदनियतबाट प्रेरित भएको आरोप लगाउँदै भने, “माथि गरिएको आक्रमण पूर्वाग्रही, षड्यन्त्रमूलक र निरन्तर चलिरहेको छ भन्ने अनुभूति भएको छ।”

गृह मन्त्रालयको नेतृत्वमा रहेको व्यक्ति भएकाले अनावश्यक रूपमा लक्षित गरिएको उनले बताए। पत्रकार सम्मेलन संसद अवरुद्ध भइरहेका बेला बोलाइएको हो, जहाँ विपक्षीहरूले गृहमन्त्रीको राजीनामा माग गर्दै निरन्तर विरोध जनाइरहेका छन्।