पत्रकार सम्मेलन गर्ने तयारीमा गृहमन्त्री लेखक

पत्रकार सम्मेलन गर्ने तयारीमा गृहमन्त्री लेखक

काठमाडौँ।भिजिट भिसा प्रकरणमा आफ्नाे धारणा राख्न गृहमन्त्री रमेश लेखक संसदमा बोल्ने आशामा छन्। तर, यदि संसदमा अवसर नदिइएमा उनले वैकल्पिक रूपमा पत्रकार सम्मेलनमार्फत प्रष्टीकरण दिने तयारी गरेका छन्।

गृहमन्त्रीको सचिवालयका अनुसार लेखकको पहिलो प्राथमिकता प्रतिनिधि सभामै बोल्ने हो। तर, विपक्षीको अवरोधका कारण सम्भव नभएमा संघीय संसद भवनको ल्होत्से हलमा पत्रकार सम्मेलन गरी धारणा सार्वजनिक गर्ने योजना बनाइएको छ।

विपक्षी दलहरूले गृहमन्त्री लेखकको राजीनामा माग गर्दै संसद लगातार अवरुद्ध गर्दै आएका छन्। उनीहरू भिजिट भिसा सेटिङ प्रकरणमा लेखक मुछिएको आरोप लगाउँदै राजीनामा माग गरिरहेका छन्। सत्तापक्षले भने राजीनामाको मागलाई सत्ता गठबन्धनमाथिको आक्रमणको रूपमा लिएको छ।

मंगलबार बालुवाटारमा बसेको सत्तारूढ गठबन्धनको बैठकले गृहमन्त्री लेखकको राजीनामा आवश्यक नभएको निष्कर्ष निकालेको थियो।