राष्ट्रिय युवा संघको नेतृत्वमा क्षितिज थेबे, १८८ मतान्तरले अध्यक्षमा विजयी

राष्ट्रिय युवा संघको नेतृत्वमा क्षितिज थेबे, १८८ मतान्तरले अध्यक्षमा विजयी

पोखरा। नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपालको पाँचौं महाधिवेशनबाट क्षितिज थेबे अध्यक्षमा निर्वाचित भएका छन्। निकटतम प्रतिस्पर्धी सुमन पुरीलाई १८८ मतले पछि पार्दै उनले नेतृत्व सम्हालेका हुन्।

थेबेले ७९७ मत प्राप्त गरे भने पुरीले ६०८ मतमा सिमित भए। महासचिवमा पनि थेबे समूहका महेश चौलागाईँ विजयी भए। उनले ७५५ मत ल्याएर प्रतिस्पर्धीलाई १०६ मतले पछि पारे।महाधिवेशनमा १,७६४ प्रतिनिधिमध्ये १,४०४ जनाले मतदान गरेका थिए। प्रारम्भमा सर्वसम्मत नेतृत्व चयनको प्रयास भए पनि सुमन पुरीले मतदानको अडान लिएपछि निर्वाचन प्रक्रिया अघि बढाइएको थियो।

कुल ३९९ जनाको उम्मेदवारी परेको महाधिवेशनबाट ९ पदाधिकारी र १५१ सदस्यीय केन्द्रीय समिति चयन गरिएको छ। साथै ४ विभागमा अध्यक्ष, उपाध्यक्ष र सचिव गरी १६३ पदमा नेतृत्व चयन भएको हो।

प्रदेशगत मत परिणाममा कोशी, गण्डकी, आयोजक क्षेत्र र बागमती प्रदेशमा थेबेले अग्रता लिएका थिए भने सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, विशेष र मधेश प्रदेशमा पुरीले बढी मत प्राप्त गरेका थिए।