

काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले भिजिट भिसा प्रकरणमा गृहमन्त्रालय अन्तर्गतका कर्मचारीमाथि भइरहेको अनुसन्धानकै आधारमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग्नु पूर्वाग्रहपूर्ण भएको टिप्पणी गरेका छन्।
मंगलबार संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले प्रश्न गरे, “जसलाई उजुरी पर्दै जान्छ, मन्त्रीहरूले राजीनामा दिँदै जाने त ?” उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको भन्दै दोषी ठहरिएपछि मात्र कारबाहीको प्रक्रिया अघि बढाइनु पर्ने बताए।
“एउटा कर्मचारीमाथि निष्पक्ष छानबिन हुन दिनुपर्छ,” खतिवडाले भने, “गल्ती भए जुनसुकै तहको व्यक्ति पनि कारबाहीको दायरामा आउनुपर्छ, तर अनुसन्धानकै क्रममा राजीनामा माग्नु गलत हो।” गृह मन्त्रालयअन्तर्गत हजारौं कर्मचारीहरू कार्यरत रहेको उल्लेख गर्दै उनले मातहतका कसैविरुद्ध उजुरी परे मात्र राजीनामा दिनुपर्ने परम्परा उचित नभएको स्पष्ट पारे।
उनका अनुसार अहिले अख्तियारमा उजुरी दिन संस्थागत प्रणाली विकसित भइरहेको छ, र केही कार्यालयमा त उजुरीको मात्र जवाफ दिनका लागि छुट्टै कर्मचारी खटाइएको छ।
यसबीच प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रसहित विपक्षी दलहरूले गृहमन्त्री लेखकको राजीनामा माग गर्दै संसद अवरुद्ध गरिरहेका छन्। उनीहरूले गृहमन्त्रीले भिजिट भिसा प्रकरणमा नैतिक जिम्मेवारी लिनुपर्ने अडान लिएका छन्।