राष्ट्रिय सहमति भए हृदयन्द्रलाई राजा बनाउन सकिन्छ : कमल थापा

राष्ट्रिय सहमति भए हृदयन्द्रलाई राजा बनाउन सकिन्छ : कमल थापा

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले राष्ट्रिय सहमति जुटे पूर्वराजा ज्ञानेन्द्र शाहको समर्थनमा हृदयन्द्र शाहलाई राजा बनाउन सकिने बताएका छन्।

जेठ १५ गतेको प्रदर्शनसम्बन्धी जानकारी दिन आयोजित सम्पादकहरूसँगको छलफलमा थापाले यस्तो धारणा राखेका हुन्। “यदि सबैको राष्ट्रिय सहमति हुन्छ भने मलाई लाग्छ राजा ज्ञानेन्द्र पनि सहमतिमा आउनुपर्छ,” उनले भने, “अहिले हामी पात्रको होइन, विचारको कुरा गर्दैछौं।”

थापाले राजसंस्थालाई कुनै व्यक्तिसँग नजोडेर विचारको रुपमा बुझ्नुपर्ने बताएका छन्। “राजसंस्था भनेको कुनै व्यक्ति होइन, यो आफैंमा एउटा विचार हो,” उनले स्पष्ट पारे, “राजसंस्थालाई स्वीकार गरिसकेपछि त्यससँग गाँसिएका मूल्य र मान्यताहरूलाई पनि आत्मसात गर्नुपर्छ।”