संसद बैठक भोलिसम्मका लागि स्थगित, जुटेन सहमति

संसद बैठक भोलिसम्मका लागि स्थगित, जुटेन सहमति

काठमाडौं: गृहमन्त्री रमेश लेखकको राजीनामा र भिजिट भिसा प्रकरणको छानबिनको माग गर्दै विपक्षी दलले संसद अवरुद्ध गरेपछि प्रतिनिधिसभाको बैठक भोलि बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको छ।

संसद् सचिवालयले सूचना टाँस्दै मंगलबारको बैठक स्थगित गरिएको जानकारी दिएको हो। बैठक अवरुद्ध भएपछि सभामुख देवराज घिमिरेले सत्ता पक्ष र विपक्षी दलबीच सहमति खोज्ने प्रयास गरेका थिए। उपसभामुख, प्रमुख सचेतक र मुख्य सचेतकको उपस्थितिमा बसेको छलफलमा सबै दल आफ्नो अडानमै कायम रहेकाले सहमति जुट्न नसकेको हो।

सत्तारूढ नेपाली कांग्रेस र नेकपा एमालेले गृहमन्त्री लेखकलाई सदनमा आरोपको जवाफ दिन दिनु पर्ने अडान राखे भने प्रमुख प्रतिपक्ष नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी लगायतका विपक्षी दलहरूले मन्त्रीको राजीनामा र उच्चस्तरीय छानबिन समिति गठनको माग दोहोर्याइरहे।

विवादको मूल विषय भिजिट भिसाको नाममा करोडौं रुपैयाँ असुली गरी नेपाली युवाहरूलाई विदेश पठाउने गिरोहमा गृहमन्त्रीसमेतको संलग्नता रहेको आरोप हो।

गृहमन्त्री लेखक आज सदनमा उपस्थित भए पनि विपक्षी दलले उनीमाथि लागेको आरोपमा जवाफ दिन दिँदैनन्। बैठक लगातार अवरुद्ध भएपछि सभामुखले आधा घण्टाको अवकाश लिएर सहमतिको प्रयास गरेका थिए। सहमति नभएपछि बैठक स्थगनको सूचना टाँसिएको हो।