

काठमाडौं । सार्वजनिक यातायात क्षेत्रको सुरक्षाका लागि ७ बुँदे मागसहित यातायात व्यवसायीहरू आन्दोलनमा उत्रिएका छन्।
नेपाल यातायात व्यवसायी महासंघ, सार्वजनिक यातायात केन्द्रीय महासंघ, नेपाल ट्रक यातायात व्यवसायी महासंघ, ढुवानी व्यवसायी महासंघ, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन र नेपाल यातायात मजदुर संघले संयुक्त पत्रकार सम्मेलनमार्फत आन्दोलनको कार्यक्रम सार्वजनिक गरेका हुन्।
संयुक्त रूपमा ‘सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समिति’ गठन गरेर उनीहरूले सार्वजनिक यातायात क्षेत्रमा १३ खर्ब रुपैयाँभन्दा बढी लगानी जोखिममा परेको र १५ लाखभन्दा बढीको प्रत्यक्ष रोजगारी संकटमा परेको दाबी गरेका छन्।
आन्दोलनका कार्यक्रमअनुसार, सबै मन्त्रालयमा ज्ञापन पत्र बुझाइनेछ भने जेठ १४ गते मुख्यमन्त्रीमार्फत प्रदेश सरकारहरूलाई मागपत्र बुझाइनेछ। त्यसपछि जेठ १८ गते देशभर कालो झन्डासहित विरोध प्रदर्शन गरिनेछ।
यातायात व्यवसायीहरूले जेठ १९ गतेदेखि सवारी साधन ग्यारेजमा थन्क्याएर अनिश्चितकालीन सेवा बन्द गर्ने घोषणा समेत गरेका छन्।