

काठमाडौं: संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे नयाँ बानेश्वरस्थित संसद भवनमा बस्दैछ। आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८१/८२ को आर्थिक सर्वेक्षण पेस गर्ने कार्यक्रम रहेको संघीय संसद सचिवालयले जनाएको छ।
बैठकको सम्भावित कार्यसूचीअनुसार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, र वन तथा वातावरण मन्त्रालयसम्बन्धी मौखिक प्रश्नहरूको उत्तर सम्बन्धित मन्त्रीहरूले दिने छन्।
त्यसैगरी, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवलकिशोर साह सुडी ले ‘बालबालिकासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८२’ संसदमा प्रस्तुत गर्नेछन्।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त ले भने राष्ट्रिय सभाबाट उत्पत्ति भएको ‘तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१’ माथि विचार गरियोस् भन्ने प्रस्ताव संसदमा पेश गर्ने कार्यसूचीमा छ।
आजको बैठकमा आर्थिक तथा सामाजिक मुद्दा समेटिएका महत्त्वपूर्ण प्रस्ताव र विधेयकहरूमा छलफल हुने अपेक्षा गरिएको छ।