देशभर वर्षाको सम्भावना, मौसम विभागको सतर्कता आग्रह

देशभर वर्षाको सम्भावना, मौसम विभागको सतर्कता आग्रह

काठमाडौं: देशमा मनसुन प्रवेशको प्रभावसहित पश्चिमी वायु, स्थानीय वायु र बंगालको खाडी तथा अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको सक्रियताले देशभर वर्षाको सम्भावना देखिएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार हाल मधेश र लुम्बिनी प्रदेशसहित पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली र अन्यत्र मौसम सफा देखि आंशिक बदली छ। कोशी, बागमती र कर्णाली प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ।

मनसुनको वर्तमान अवस्था अनुसार अरब सागर, महाराष्ट्रा, मुम्बई, कर्नाटक, तमिलनाडु, तेलाङ्गना, आन्ध्र प्रदेश, उत्तर बंगालको खाडी, त्रिपुरा, मनिपुर, नागाल्याण्ड, अरुणाचल प्रदेश, असम र मेघालयसम्म फैलिएको छ र बाँकी भू-भागमा पनि विस्तार हुने क्रममा रहेको महाशाखाले जानकारी दिएको छ।

आजको दिन देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। पहाडी भू-भागका थोरै स्थान तथा तराईका एक-दुई स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। उच्च पहाडी र हिमाली भेगमा हल्का वर्षासहित हिमपात पनि हुन सक्ने देखिएको छ।

यस्तो अवस्थाले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा असर पार्न सक्ने भएकाले आवश्यक तयारी गर्न र सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ।