चीनमा पूर्वराष्ट्रपति भण्डारीको आह्वान : “एसियाले विश्व शान्ति र समृद्धिमा नेतृत्व लिनुपर्छ”

चीनमा पूर्वराष्ट्रपति भण्डारीको आह्वान : “एसियाले विश्व शान्ति र समृद्धिमा नेतृत्व लिनुपर्छ”

काठमाडौं: चीन भ्रमणको तेस्रो दिन पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी बेइजिङमा आयोजित एक विशेष कार्यक्रममा सम्मानित अतिथिका रूपमा सहभागी भइन्, जहाँ चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को अन्तर्राष्ट्रिय विभाग प्रमुख ल्यु च्याशाओले स्वागत गरेका थिए।

सीपीसीको अन्तर्राष्ट्रिय विभाग (आईडीसीपीसी) द्वारा आयोजना गरिएको उक्त कार्यक्रममा चीनसँग सहकार्यमा रहेका १४ देशका राजनीतिक दलका नेताहरूको उपस्थिति रहेको थियो। स्वागत मन्तव्यमा ल्युले मित्र राष्ट्रहरूसँगको सहकार्य र भाइचाराको सम्बन्धलाई सधैं प्राथमिकतामा राख्ने चीनको नीति स्पष्ट पारे।

२२ मिनेटको आफ्नो सम्बोधनमा भण्डारीले नेपाल-चीन सम्बन्धको ऐतिहासिक महत्त्व र नेपालका विकास प्रयासमा चीनले पुर्‍याएको योगदानप्रति आभार व्यक्त गरिन्। उनले भनिन्, “नेपालको राजनीतिक रुपान्तरणमा मदन भण्डारीको वैचारिक योगदान अझै प्रेरणास्रोत छ। अहिलेको सरकारले यही विचारका आधारमा ‘समृद्ध नेपाल, सुखी नेपाली’को कार्यान्वयन गरिरहेको छ।”

भण्डारीले एसियाली मुलुकहरूले अब विश्व शान्ति, स्थिरता र समृद्धिको नेतृत्व गर्नुपर्ने समय आएको बताउँदै चीनलाई त्यसका लागि अग्रसर हुन आग्रह गरिन्। उनले एसियालाई प्रेरणाको केन्द्रको रूपमा विकास गरिनुपर्ने धारणा राखिन्।

यद्यपि उनी पूर्वराष्ट्रपति भए पनि, कार्यक्रममा नेकपा एमालेको प्रतिनिधिमण्डल प्रमुखका रूपमा सहभागी भएकी थिइन्। उनले आफ्नो मन्तव्यमा एमाले र सीपीसीबीचको सुदृढ सम्बन्धको पनि चर्चा गरिन्।

सीपीसीको भनाइअनुसार, कार्यक्रमको उद्देश्य मित्र पार्टीहरूसँगको सम्बन्धलाई थप बलियो बनाउने रहेको थियो।