प्रधानमन्त्री ओलीलाई उत्तेजक अभिव्यक्ति नदिन गगन थापाको आग्रह

प्रधानमन्त्री ओलीलाई उत्तेजक अभिव्यक्ति नदिन गगन थापाको आग्रह

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई उत्तेजित बनाउने खालका अभिव्यक्ति दिन नहुने बताएका छन्। सोमबार पार्टी पदाधिकारी बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै थापाले यस्ता अभिव्यक्ति लोकतान्त्रिक वातावरणका लागि घातक हुने भन्दै आगामी दिनमा दोहोरिन नहुने चेतावनी दिए।

“हामीले त कसैलाई उत्तेजनामा ल्याउने काम गर्न पाइँदैन भने सम्माननीय प्रधानमन्त्रीबाट त्यस्तो कुरा आउनु कल्पना गर्नै नसकिने विषय हो,” थापाले भने, “जुन कुराहरू बाहिर सुनिए, त्यस्ता कुरा अब फेरि नदोहोरियोस् भन्ने हाम्रो अपेक्षा हो।”

थापाले उक्त टिप्पणी प्रधानमन्त्री ओलीले शनिबार गोदावरीमा आयोजित नेकपा (एमाले) वाग्मती प्रदेश कमिटीको कार्यक्रममा जेठ १५ मा काठमाडौंलाई एमालेको नियन्त्रणमा राख्ने अभिव्यक्तिप्रति प्रतिक्रिया दिँदै गरेका हुन्। उनका अनुसार प्रधानमन्त्रीको यस्तो अभिव्यक्तिले लोकतान्त्रिक मूल्यमान्यतामाथि प्रश्न उठाउँछ।