

काठमाडौं। सत्तारुढ नेपाली कांग्रेसले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमनमा देखिएको भिजिट भिसा अनियमितता प्रकरणमा गृहमन्त्री रमेश लेखकको संलग्नता पुष्टि नहुने निष्कर्ष निकालेको छ। कांग्रेसले सामाजिक सञ्जालमा फैलाइएका अफवाहका आधारमा मन्त्रीले राजीनामा दिनु नहुने स्पष्ट पारेको छ।
सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी बैठकपछि कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले गृहमन्त्री लेखक निर्दोष रहेको बताएका हुन्। “अध्यागमनमा भएको अख्तियारको छापामारी र त्यसपछिका विषयमा गृहमन्त्रीले संसदभित्र र बाहिर प्रष्ट पार्ने छन्,” महतले भने।
बैठकमा केही नेताले गृहमन्त्रीको राजीनामाको माग गर्दै हतार गरेका भन्दै ती अभिव्यक्तिहरूको आलोचना भएको प्रवक्ता महतले बताए। उनले अब यथार्थ बुझेपछि नेताहरूबाट त्यस्ता प्रतिक्रियाहरू नआउने बताए।
गृहमन्त्री लेखकले बैठकमा आफूमाथि लगाइएका आरोप निराधार भएको विस्तृत रूपमा ब्याख्या गरेका थिए। कांग्रेसले उनको स्पष्टीकरणलाई पूर्णरूपमा विश्वास गरेको जनाएको छ। प्रवक्ता महतले भने, “वास्तविक दोषी जो छन्, उनीहरूलाई निष्पक्ष छानबिनमार्फत कारबाही गर्नुपर्छ।”